टोकियो : जनवरी १ मा जापानमा गएको विनाशकारी भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या २०० नाघेको तथा १०० बढी अझै बेपत्ता रहेका अधिकारीहरुले बताएका छन् ।
उनीहरूका अनुसार, नयाँ वर्षको पूर्व सन्ध्यामा आएको ७.५ म्याग्निच्युडको भूकम्पले जापानको होन्सु टापु स्थि नोटो प्रायद्वीपमा आगलागी हुँदा भवन तथा पूर्वाधारहरू ध्वस्त भएका थिए । भूकम्प गएको आठ दिनसम्म पनि उद्धारकर्ताहरू अवरुद्ध सडक र प्रतिकूल मौसमका बावझुत भग्नावशेष हटाउन र फसेका ३५ सय मानिसहरूसामु पुग्ने प्रयास गरिरहेका छन् । इशिकावा क्षेत्रीय अधिकारीहरूले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार २०० जनाको मृत्यु भएको पुष्टि भएको छ भने १०२ जना बेपत्ता रहेको बताइएको छ ।
अधिकारीहरूले सोमबार केन्द्रीय तथ्याङ्क अद्यावधिक गर्दासम्म बेपत्ताको सङ्ख्या तीन गुणा बढेर तीन सय २३ पुगेको थियो । जसमा धेरै जसो अति प्रभावित क्षेत्र वाजिमाका मानिसहरू रहेको बुझिएको छ । प्रभावित क्षेत्रमा हिउँ परेकाले राहत कार्यमा कठिनाइ भईरहेको छ । सोमबारसम्म झन्डै ३० हजार मानिसहरू ४०० वटा सरकारी आश्रयस्थलमा शरण लिन बाध्य छन् । उनीहरूलाई पर्याप्त खाना, पानीको व्यवस्था गर्न कठिन भइरहेको अधिकारीहरूको भनाइ छ ।








