नक्कली टिकट दिएर एजेन्ट फरार

२०८० माघ १३, शनिबार

बाँके : बाँकेको खजुरा गाउँपालिका –४ ईगाउँका अमरबहादुर बुढामगरले दुई बर्षअघि बार्षिक ३६ प्रतिशत ब्याजदरमा रकम लिएर खाडी मुलुक दुबई जानका लागि दुई लाख ३० हजार रुपियाँ म्यानपावर कम्पनीका प्रतिनिधिलाई बुझाए ।

रकम बुझाएर दुई बर्षसम्म दुबई जान नपाएका बुढामगर अहिले ब्याजमा लिएको रकम कसरी तिर्ने भन्ने चिन्ताले पिरोलिएका छन् । नेपालगञ्जमा पत्रकार सम्मेलन गर्दै बुढामगरले भने, ‘रकम बुझाएको दुई दिनपछि नै म्यानपावरको एजेन्ट साविक सुर्खेत बजेडीचौर –१ का होमनाथ योगी सम्पर्कबिहीन भए । हाम्रो पैसा फसेको छ, ब्याज दिनदिनै बढिरहेको छ ।’

दुबईको भलोदिया कम्पनीमा राम्रो काम पाइने आश्वासन दिएपछि योगीलाई ईगाउँका अमरसहित गोपालबहादुर थापा मगर, प्रेम सुनारलगायतका ९ जनाले अढाइ लाखको दरले रकम बुझाएका हुन् । योगीले ईगाउँका ९ जनासहित १२ जनासँग रकम बुझेपछि भिसा र टिकट आइसकेको भन्दै सबैलाई काठमाडौं बोलाएको पीडित गोपालबहादुर थापाले बताए । गोपालले दुई लाख ५० हजार रुपियाँ बुझाएको बताए ।

नक्कली टिकट थमाएर आफुलाई दुबई लैजाने आश्वासन दिएको पीडितहरुले बताएका छन् । एक महिनासम्म काठमाडौंका होटलमा बसेपछि अन्त्यमा नक्कली टिकट दिएर योगी सम्पर्कबिहीन भएपछि आफुहरु गाउँ फर्किएको पीडितहरुले जनाएका छन् । कतिपय पीडितहरु ब्याज तिर्नका लागि भारतका विभिन्न सहरमा रोजगारीका लागि पुगेका छन् ।

आफुले पैसा बुझाएका योगी लामो समयदेखि सम्पर्कबिहीन भएकाले उनको खोजी गरी आफुहरुको रकम फिर्ता गराइदिन पीडितहरुले पत्रकार सम्मेलनमार्फत अपिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार