
रुकुमपूर्व : रुकुमपूर्वमा सम्बन्धविच्छेदका मुद्दा बढ्दै गएका छन् । हरेक वर्ष अदालतको कुल मुद्दामध्ये सम्बन्धविच्छेदका मुद्दा बढी आउने गरेका छन् । चालु आर्थिक वर्षको छ महिनामा जिल्ला अदालतमा परेका १४४ मुद्दामध्ये सबैभन्दा बढी सम्बन्धविच्छेदका ६८ छन् ।
स्रेस्तेदार भूपाल भण्डारीले विभिन्न २४ प्रकारका मुद्दा अन्तर्गतका सम्बन्धविच्छेदको मुद्दा ६८ वटा रहेको बताए । जसमध्ये ४० वटा मुद्दा फस्र्योट गरिएको छ भने २८ मुद्दा बाँकी रहेको स्रेस्तेदार भण्डारीले जानकारी दिए । त्यसै गरी जबरजस्ती करणी मुद्दा दोस्रो स्थानमा रहेको अदालतले जनाएको छ । करणीका १४ वटा मुद्दामध्ये आठ वटा फस्र्याेट गरिएको छ वटा बाँकी रहेको भण्डारीले बताए । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेले वैदेशिक रोजगार, गरिबी, अशिक्षा र कम उमेरमा विवाहले पछि दाम्पत्यबिच विवाद सिर्जना हुँदा सम्बन्धविच्छेद गर्ने बढेको बताए ।
उनले भने, “सम्बन्धविच्छेदका मुद्दा सबैभन्दा बढी परेका छन् । हरेक वर्ष यो समस्या देखिइरहेको छ । हामी सकभर घरपरिवार नटुक्रियोस् भन्ने चाहन्छौँ । मिलापत्रका लागि पठाउँछौँ तै पनि सम्बन्धविच्छेद गर्ने राजी भएर आउँछन् ।” सम्बन्धविच्छेदलगायत अन्य मिल्न सकिने मुद्दामा पनि मेलमिलाप गर्न प्रोत्साहन गर्ने गरेको उनको भनाइ रहेको छ ।