काठमाडौँ : पछिल्ला केही समययता पूर्वराजा ज्ञानेन्द्र जनताको मनशाय बुझ्न तराई–मधेसको यात्रामा छन्। पछिल्लो वीरगञ्ज यात्रामा नागरिक अभिनन्दन कार्यक्रममा उनले अभिनन्दन ग्रहण मात्र गरेनन्, देश बनाउन र देश बचाउन आफूमाथि निरन्तर आह्वान गरिएको घोषणा पनि गरे।
उनले २०५८ साल जेठ १९ गते राजा वीरेन्द्रको वंशनाश हुने घटनामा राजनीतिक जालझेल गरी सर्वसाधारणमा भ्रमको बादल बनाइएको गुनासो गरेका छन्। घटनामा प्रत्यक्षदर्शी हुँदा हुँदै पनि अज्ञानता र छलमा सर्वसाधारण बहकिरहेको बताउँदै उनले आफूलाई गलत रूपमा बुझ्नु अन्यायपूर्ण मात्र नभई दुर्भाग्यपूर्ण भएको बताएका छन्।
गद्दी त्यागेको १५ वर्ष बितिसक्दा पनि सर्वसाधारणमा असन्तोष, चिन्ता, आक्रोश नघटेको असन्तोष प्रकट गर्नुका साथै उनले चिरकालपर्यन्त देश सुरक्षित रहोस् भन्ने कामना गर्दै श्रीपेच सुम्पिएको बताएका छन्। उनले अझै देशको सर्वाङ्गीण उन्नतिको कामना गरिरहेको बताउँदै देशको मौलिकता, अस्तित्व, पहिचान गुमाएर देशलाई विभाजनको खाडलमा लगी सुमधुर सामाजिक सम्बन्ध बिथोलेर देशको भलो नहुनेमा आफ्नो अडान कायमै रहेको बताएका छन्।
उनले देश छाडेर परदेश बनाउने बेला गइसकेको र आफ्नै क्षमताले देश बनाउदा नै प्रतिष्ठा बढ्ने बताएका छन्। उनले भने, ‘हामी भूगोल र भू–बनोटमा बाँडिने होइन, हामी जातजाति, धर्म–संस्कृतिमा खण्डित हुने होइन, हामी सबैको देश नेपाल, नेपालमा बस्ने हामी सबै नेपाली। त्यसैले विभेदको, विखण्डनको, विग्रहको र निषेधको राजनीति हामी नगरौं। हामी सबैको भलाइ यसैमा छ।’










