गठबन्धनलाई झन् बलियो बनाएर अघि बढ्नु आवश्यक : मन्त्री किराती

२०८० फाल्गुन २०, आईतवार

खोटाङ : संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले मुलुकको निकासका लागि गठबन्धन थप मजबुद बनाउँदै लाने बताएका छन् । दिक्तेलमा प्रेस सेन्टरले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री किरातीले अहिलेको अवस्थामा मुलुकलाई निकास दिन गठबन्धनलाई थप मजबुद बनाउनु पर्ने अवस्था रहेको बताए ।

उनले अहिले मन्त्री को रहने वा नरहने भन्दा पनि मुलुकमा रहेको बग्रेल्ती बेथिति, भ्रष्टाचारजस्ता विषयलाई अन्त्य गर्नु मुख्य चुनौती रहेको बताए । ‘को मन्त्री रहने वा नरहने भन्दा पनि मुलुकमा रहेको बग्रल्ती बेथिति, भ्रष्टाचारको अन्त्य गर्नु प्रमुख विषय हो,’ किरातीले भने, ‘अझ मुलुकको स्थायी निकासका लागि राष्ट्रिय सरकारको आवश्यकता देखिन्छ ।’

पहाडी क्षेत्रका विमानस्थलहरुमा नियमति उडान भर्न नसक्ने तर उदयपुर, धरान लगायतका ठाउँहरूमा नयाँ विमानस्थल बनाउने भन्ने विषयमा सोधिएको प्रश्नमा मन्त्री किरातीले भने, ‘उदयपुरको जोगिदहमा विमानस्थलका लागि पहिल्यैदेखिको बजेट विनियोजन हुँदै आएको र त्यस बजेटलाई उपयोग गर्दै ठाउँलाई संरक्षण गर्ने हो ।

उनले धरानमा विमानस्थल बनाउने कुरा चाँहि आवश्यकताको आधारमा भन्दा पनि चुनावी एजेण्डाले गर्दा जोड बल गरिएकाले त्यहाँ तत्काल एयरपोर्ट बनाउन आवश्यक नरहेको बताए । ‘धरानमा अहिले एयरपोर्ट आवश्यक छैन । त्यहाँ वानवे रनवे मात्र बन्ने प्राविधिक रिपोर्ट छ र अर्को उदयपुर र विराटनगर नजिकै छ, धरानमा एअरपोर्ट बनाउनु भनेको जनतालाई थप ऋणको भारी बोकाउनुमात्रै हो,’ उनले भने ।

पहाडी क्षेत्रका विमानस्थलहरुमा तीन वटा जहाज खरिद र ग्राउण्डेट दुई जहाज मर्मतका साथै हाल सञ्चालनमा भएको एउटा गरी जम्मा छ वटा भएपछि नियमित उडान भरिने बताए । ऐतिहासिक तथा पुरातात्विक क्षेत्रलाई ध्वस्त पारेर अन्य संरचनाहरु निर्माण भइरहेको, मुन्दुम ट्रेलको योजनाहरु अपूरो रहेको र धार्मिक सहिष्णुता कायम राख्ने विषयमा गरिएको प्रश्नमा नीति तथा कार्यक्रममा समन्वयात्मक एकीकृत विकास मार्फत त्यसलाई व्यवस्थित गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार