रूपन्देही : नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा चलाउनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
देउवाले प्रधानमन्त्री रहेको बेला ०५९ जेठ २ गते यो विमानस्थल शुभारम्भ गरेपनि अहिलेसम्म पूर्णरूपमा संचालन हुनसकेको छैन। बुधबार नेपाली कांग्रेस क्षेत्र नं ३ रुपन्देहीले आयोजना गरेको कार्यक्रम बोल्दै देउवाले विमानस्थललाई पूर्णरुपमा संचालनका लागि आफ्नो तर्फबाट र पार्टीको तर्फबाट पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । अहिलेको समयमा पार्टीलाई एक ढिक्का बनाएर लैजाने र जनताका बीचमा जाने देउवाले बताए।
नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ३ का सभापति सुशील गुरुङले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा संचालनका लागि पहल गर्न देउवालाई आग्रह गरेका थिए। यो विमानस्थल निमार्णका लागि सरकारले करिब ३१ अर्ब लगानी गरेको छ भने निजी क्षेत्रले यसलाई आधार बनाएर सोही अनुपातमा लगानी गरेपनि विमानस्थल संचालन नभएकोले निराशा हुनुपरेको बताइरहेका छन्।
बुधबारको कार्यक्रममा नेपाली कांग्रेस प्रदेश सभापति अमर पुन, लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु भरत कुमार शाह, अब्दुल रज्जाक लगायतले देउवालाई प्रदेश र रूपन्देहीको अवस्थाबारे जानकारी गराएका थिए। देउवा बुधबार रूपन्देहीका विभिन्न कार्यक्रममा सहभागी भएर साँझ काठमाडौं फर्कने कार्यक्रम रहेको छ।