गठबन्धनमा भाग पुर्‍याउन गण्डकीमा २ मन्त्रालय फुटाइयो

२०८० चैत्र २९, बिहीबार

पोखरा : गण्डकी प्रदेश सरकारले मन्त्रालय थप्ने निर्णय गरेको छ । मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको मन्त्रिपरिषद्को मंगलबारको बैठकले मन्त्रालय बढाएर ९ पुर्‍याउने निर्णय लिएको हो । गण्डकीमा यसअघि ७ मन्त्रालय थियो।

मन्त्रिपरिषद्को मंगलबारको बैठकले मन्त्रालय टुक्र्याएर स्वास्थ्य र आन्तरिक मन्त्रालय बनाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा विनाविभागीय मन्त्री हरिबहादुर चुमानले जानकारी दिए। सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य मन्त्रालय र मुख्यमन्त्रीसँग आन्तरिक मन्त्रालय बेग्लै बनाउने निणर्य भएको सरकारका प्रवक्ता चुमानले सुनाए।यसअघि खगराज अधिकारी नेतृत्वकै सरकारले अघिल्लो वर्षको पुसमा प्रदेशमा रहेको १२ मन्त्रालयलाई घटाएर ७ मन्त्रालय बनाउने निर्णय गरेको थियो। अहिले सरकारलाई बहुमत पुग्न कठिन देखिएपछि मुख्यमन्त्री अधिकारीले भागबन्डा पुर्‍याउन दुई मन्त्रालय बढाउने निर्णय लिएका हुन्।

सभामुखको हस्ताक्षरसहित बहुमत पुर्‍याएर सरकार बनाएको विषयमा गण्डकी कांग्रेसले दायर गरेको रिटमा सर्वोच्च अदालतले बुधबार खगराज अधिकारी नेतृत्वको सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न आदेश दिएको छ। मन्त्रालय थप्ने निर्णय भने मंगलबारको भएको प्रवक्ता चुमानले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार