
बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्रीले विश्वासको मत लिने भएपछि सभामुख तुलाराम घर्ती मगरले दिउँसो एक बजेका लागि प्रदेशसभाको बैठक बोलाएका छन्। लुम्बिनी प्रदेशसभा नियमावलीको नियम १२ अनुसार बैठक बस्न लागेको प्रदेशसभा सचिव दुर्लभ कुमार पुनले जानकारी दिए। प्रदेशसभाका ८७ सांसद मध्ये बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ ।
महरालाई गठबन्धन दल एमालेको २९, माओवादी १०, नागरिक उन्मुक्ति पाटीका ४, जसपाका ३, नेकपा एकीकृत समाजवादीका एक र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ सांसदको समर्थन रहेको छ। महराले विश्वासको मत लिएपछि मात्रै सरकार विस्तारको काम अगाडि बढाउने तयारी गरेका छन् ।