
भोजपुर : भोजपुरमा बोलेरो दुर्घटना हुँदा दुई युवीको मृत्यु भएको छ। दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय भोजपुरले दिएको जानकारी अनुसार आमचोक गाउँपालिका–८ पारकुवा भन्ने ठाउँमा सोमबार को १ ज २६१७ नम्बरको बोलेरो सडकबाट दुई सयमिटर तल खसेर दुर्घटनामा परेको हो। आमचोकबाट भोजपुरकै पारकुवातर्फ जाँदै बोलेरो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिए।
‘दुर्घटनामा आमचोक गाउँपालिका–१० पाङ्चाकी २७ वर्षीया रूना राई र सुनसरीको धरान उपमहानगरपालिका ५ की २६ वर्षीया शान्ति राईको मृत्यु भएको छ,’ इन्सपेक्टर राईले जानकारी दिए, ‘बोलेरोमा सवार १४ जनामध्ये १२ जना घाइते भएका छन्।’ उनले रुनाको घटनास्थलमै र शान्तिको उपचारका क्रममा धरानमा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जानकारी दिए।
घाइते सबैलाई उपचारको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको उनले बताए।