रास्वपा महामन्त्री मुकुल ढकाल जिल्ला दौडाहामा

२०८१ जेष्ठ ६, आईतवार

काठमाडौं : इलाम–२ को उपनिर्वाचनमा धक्का व्यहोरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आइतबारबाट देश दौडाहा गर्ने भएको छ। पार्टी महामन्त्री डा. मुकुल ढकालले आइतबार साँझ पार्टी कार्यालयबाट समीक्षा सुरू गर्न लागेका हुन्। ‘पार्टीको राजनीतिक यात्रा कस्तो रह्यो, सुधारका लागि के गर्नुपर्छ भनेर पार्टीका नेता–कार्यकर्तासँग प्रत्यक्ष भेटघाट अन्तरक्रिया गर्न लागेका हौं। राजनीतिक हिसाबले यो समीक्षा यात्रा पनि हो,’ महामन्त्री ढकालले भने, ‘पार्टी केन्द्रीय कार्यालयबाट म एक्लै यात्रामा निस्कनेछु। केन्द्रीय सदस्य र सांसदहरू ठाउँ-ठाउँमा जोडिनुहुनेछ।’

निर्वाचनलगत्तै बसेको पार्टी सचिवालयको बैठकले देशव्यापीरूपमा नेता–कार्यकर्ता भेटेर पार्टीको समीक्षा गर्ने निर्णय गरेको थियो। पार्टीका महामन्त्री ढकालले नेतृत्वमा समीक्षा यात्रा गर्ने र त्यसका प्रतिवेदन पार्टीलाई बुझाउने निर्णय गरेको थियो। असार ५ गतेसम्म चल्ने दौडाहामा महामन्त्री ढकाल ३२ जिल्ला पुग्नेछन्। यसबीचमा पार्टीले कहाँकहाँ गल्ती गर्‍यो?, के गर्नुहुन्न? के सही गर्‍यो? अब के गर्नुपर्छ भन्ने प्रश्नमा आधारित रहेर पार्टीका नेता–कार्यकर्ता, समर्थक–शुभेच्छुकसँग राय–परामर्श लिने कार्यक्रम रहेको महामन्त्री ढकालले बताए।

पार्टीका नेता–कार्यकर्ता, समर्थक–शुभेच्छुकको रायको आधारमा प्रतिवेदन तयार पार्ने र सोही आधारमा कार्ययोजना तय गरेर पार्टीलाई गतिशील बनाइने महामन्त्री ढकालले बताए। पार्टी कार्यालयबाट यात्रा सुरू गर्ने र आजै साँझ मकवानपुरको थाहा नगरपालिका पुगेर बास बस्ने कार्यतालिका रहेको ढकालले बताए। सोमबार हेटौंडा हुँदै राति पर्साको वीरगञ्ज पुग्ने योजना छ। मंगलबार बाराको कलैया हुँदै रौतहटको गौर पुग्ने कार्ययोजना रहेको उनले बताए।

अगामी जेठ १३ गते झापाको दमक हुँदै इलाम पुग्ने र त्यहाँबाट मोरङ, उदयपुर, चितवन, गोरखा, कास्की, पर्वत, बागलुङ, रोल्पा, दाङ, कैलाल, डडेलधुरा पुग्ने तालिका रहेको महामन्त्री ढकालको भनाइ छ। डडेलधुराबाट कैलाली हुँदै फर्किएर बर्दिया, सुर्खेत, जाजरकोट हुँदै जेठ २९ गते डोल्पाको दुनै पुग्ने कार्यतालिका रहेको छ। डोल्पाको दुनैमा चार दिन रहने उनले बताए। यात्राको समापन भने असार ६ गते काठमाडौंमा हुनेछ। इलाम–२ को उपचुनावपछि रास्वपाले समीक्षा यात्रालाई पार्टीको यात्रको सिंहावलोकन भनेको छ।

वैशाख १५ गते इलाम–२ मा भएको उपनिर्वाचनमा रास्वपा उम्मेदवार मिलन योङहाङ लिम्बूको जमानत जफ्त भएको थियो। लिम्बूले ५ हजार ५० मत ल्याएर चौथो बन्दा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार ७७२ मतका साथ निर्वाचित भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार