राष्ट्रिय सभा बैठक बस्दै नबसी सर्‍यो

२०८१ जेष्ठ ६, आईतवार

काठमाडौं : राष्ट्रिय सभाको आइतबारको बैठक बस्दै नबसी सरेको छ। आइतबार दिउँसो १ बजेर १५ मिनेटमा बोलाइएको बैठक निर्धारित समयमा सुरू हुन नसकेपछि अपराह्न ३ बजेर १५ मिनेटमा बस्ने गरी सारिएको थियो। यो समयमा पनि बैठक बसेन।

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सोमबार दिउँसो १ बजेर १५ मिनेटमा बस्ने गरी बैठक सारेका छन्। संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले विशेष कारणवश बैठक सोमबारसम्मका लागि सारेको सूचना निकालेर उल्लेख गरेका छन्।

प्रधानमन्त्रीसहित सत्ता पक्ष र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न सहमत भए पनि समितिको क्षेत्राधिकारबारे दलहरूबीच सहमति जुटिसकेको छैन।

संसदीय छानबिन समितिको क्षेत्राधिकार टुंगो लगाउन आइतबार बिहानदेखि सत्ता र प्रतिपक्षी दलका नेताहरू छलफल गरिरहेका छन्। कांग्रेसले संसदीय समितिको क्षेत्राधिकार नतोकेसम्म सदनमा अवरोध कायमै राख्ने बताएको थियो।

सहकारीको बचत अपचलन, हिनामिना, दुरूपयोग र ठगीमा गृहमन्त्री रवि लामिछाने पनि संलग्न रहेको भन्दै कांग्रेसले संसदीय समिति माग गर्दै प्रतिनिधि सभा र राष्ट्रिय सभामा अवरोध गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार