गृहमन्त्री रविले बोलेपछि गगन बोल्न पाउनुपर्ने कांग्रेसको अडान

२०८१ जेष्ठ ६, आईतवार

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता पक्षका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्।

प्रतिनिधि सभा बैठक बस्नुअघि आइतबार अपराह्न नयाँ बानेश्वरमा प्रधानमन्त्री दाहालले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन्। सभामुख देवराज घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार प्रधानमन्त्री दाहालले सत्ता पक्षका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्।

आइतबार अपराह्न साढे ४ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइए पनि सुरू भएको छैन। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गरेको छ।

प्रधानमन्त्रीसहित सत्ता पक्षका नेताहरू कांग्रेसको मागअनुसार संसदीय समिति बनाउन शनिबार नै तयार भएका थिए। तर समितिको कार्यक्षेत्रबारे सत्ता र प्रतिपक्षी दलबीच कुरा मिलेको छैन।कांग्रेसले गृहमन्त्री लामिछानेको नाम नै तोक्नुपर्ने बताएको छ भने एमाले र रास्वपाले व्यक्ति विशेषको नाम तोक्न नहुने अडान राख्दा सहमति भएको छैन।

यसैबीच प्रधानमन्त्री दाहालले सोमबारको प्रतिनिधि सभा बैठकमा विश्वास मत लिन खोजेका छन्। सोमबार विश्वास मत लिन सहज हुने देखिएमा आज प्रतिनिधि सभा बैठक चलाउने उनको तयारी छ।

कांग्रेसले भने आइतबारको प्रतिनिधि सभा बैठकमा सांसद रामहरि खतिवडा बोल्ने, त्यसपछि गृहमन्त्री लामिछानेले जबाफ दिने र त्यसमाथि महामन्त्री गगन थापाले प्रश्न गर्ने गरी सदन चलाउनुपर्ने धारणा राखेको स्रोतको भनाइ छ। तर सत्ता पक्षले यस विषयमा सहमति जनाइसकेको छैन।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार