
बझाङ : भारतको बेंग्लुरुमा खाना पकाउने ग्याँस विस्फोट हुँदा बझाङका एकै परिवारका दुई जनाको ज्यान गएको छ । घटनामा परी तीन जना घाइते भएका छन् । बेंग्लुरुको एलहंकामा भएको उक्त दुर्घटनामा बझाङको जयपृथ्वी नगरपालिकाका दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका वडा नम्बर–१, का मदन बोहराका ८ वर्षीय छोरी अनिता र साढे ४ वर्षका छोरा प्रशान्त रहेका छन् । कोठामा खाना पकाइरहेका बेला ग्याँस विस्फोट भएपछि मदन, उनी श्रीमती प्रेमजला, दुई छोरी र एक छोरा जलेर घाइते भएका थिए ।
गत बुधबार राति ११ बजेतिर सबै परिवार कोठामै भएको बेला खाना पकाउने क्रममा एक्कासि ग्याँस विस्फोट भएको थियो । घटनालगत्तै घाइते पाँचै जनालाई नजिकै रहेको भिक्टोरिया अस्पताल लगिएको थियो ।
न्यून आर्थिक अवस्थाका ३२ वर्षीय मदन गाउामा जीविका चलाउन गाह्रो भएपछि विगत ६ वर्षदेखि परिवारसहित भारतमा बस्दै आएका थिए । मदन बेंग्लुरुको एउटा अपार्टमेन्टमा चौकीदारको काम गरिरहेका थिए भने उनकी श्रीमतीले स्थानीयको घरमा सरसफाइको काम गर्दै दुई जना छोरीहरूलाई त्यहीँको स्थानीय विद्यालयमा पढाइरहेका थिए ।