सांसद थानीको प्रश्न: अरूलाई फिस्टाको मुटु भएको भन्नुहुन्थ्यो, सिंहको मुटु भएको गृहमन्त्रीले तीन वटा फाइल किन खोल्नुभएन?

२०८१ असार ४, मंगलवार

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद हृदयराम थानीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्नैप्रश्न गरेका छन्। मंगलबारको प्रतिनिधि सभा बैठकमा बजेटमाथि छलफलमा भाग लिएर रोस्टमबाट बोलेका सांसद थानीले गृहमन्त्री लामिछानेमा केही गरौं भन्ने हुटहुटी रहे पनि त्यो हुटहुटी काम लागेको छ कि छैन भन्ने पनि प्रश्न गरे। यसपछि उनले जिबी राई चर्चामा रहेको पनि बताए।

‘सहकारी र गोरखा मिडियाबाटै जिबी राई चर्चित हुनुभयो। हाम्रै गृहमन्त्रीले २०८० चैत १० गते जिबी राई आकास होस् कि पाताल होस् समातेर ल्याउँछु भन्नुभयो, गृहमन्त्रीजी यो कुरा याद छ कि छैन?,’ थानीले प्रश्न गरे, ‘अन्यथा नमान्नुहोला, मैले मिति पनि भनेको छु। कहाँ गए त जिबी राई?’ त्यसको ५० दिनपछि लामिछानेले भरतपुर विमानस्थलमा २०८१ वैशाख २९ गते जिबी राईलाई अघिल्लो सरकारले भगाएको भन्ने अभिव्यक्ति दिएको पनि थानी बताउँछन्।

‘त्यसबेला को हो प्रधानमन्त्री? पुष्पकमल दाहाल नै हुनुहुन्छ। को हो गृहमन्त्री? तपाईंकै अगाडि रहनुभएका नारायणकाजी श्रेष्ठ हुनुहुन्छ,’ गृहमन्त्री लामिछानेलाई लक्षित गर्दै उनले भने, ‘अघिल्लो सरकारले जिबी राईलाई भगायो कि भगाएन कसले जिम्मेवारी लिने?’ गृहमन्त्रीले समयअनुसार बोलीका भाषा फेर्ने गरेको उनको भनाइ छ। ‘यस्तै तरिकाले मुलुक चल्छ? यही तरिकाले गृह मन्त्रालय चल्छ?,’ उनले भने।

यसपछि थानीले गृहमन्त्रीले विगतमै दिएको अर्को अभिव्यक्तिको प्रसंग सुनाए। तीन वटा फाइल खोल्यो भने मुलुकका अधिकांश नेता सदनमा नभई जेलमा हुन्छन् भन्ने अभिव्यक्ति लामिछानेले दिएको उनको भनाइ छ।

‘तीन वटा फाइल खोल्यो भने यो देशका अधिकांश नेता जेलमा हुन्छन् संसदमा हुँदैनन् भनेर तपाईंले भन्नुभयो। मोबाइलमा रेकर्ड पनि राखेको छु,’ उनले भने, ‘मुटु सिंहको जस्तो हुनुपर्छ फिस्टाको जस्तो होइन भनेर भन्नुभयो। तीन वटा फाइल के हो तपाईंले बताउनु पर्छ। ती तीन फाइल कुन-कुन हुन् भन्न सक्नु हुन्छ? तपाईंको शक्तिले भ्याउँछ?’ अरूलाई फिस्टाको मुटु छ भन्नेले फाइल के कारणले नखोलेर सुतेर बसेको भन्ने प्रश्न पनि थानीको छ।

‘किन ती तीन वटा फाइल खोल्न तपाईंले ढिलो गर्नुभएको छ? गृहमन्त्री तपाईं हो। अरूलाई फिस्टाको मुटु भएको भन्नुहुन्थ्यो तपाईं त सिंहको मुटु भएको मान्छे, के कारणले तपाई सुतिरहनुभएको छ?,’ उनले गृहमन्त्रीलाई प्रश्न गरे, ‘कि भन्नुस् म सिंह हो सुतिरहेको छु, उठेपछि जे पनि गर्छु भनेर।’ गृहमन्त्रीले कसलाई धम्क्याएको हो भन्ने प्रश्न पनि उनले गरे।

‘सत्तामा बसेकासँग त तपाईं सल्लाह गर्नुभएको छ। तपाईंले धम्क्याएको कांग्रेसलाई होला भन्ने मेरो अनुमान छ,’ उनले भने, ‘म अलिअलि बुझ्न सक्छु। कांग्रेस संसदीय दलको २०८१ जेठ ७ को बैठकले गृहमन्त्री लामिछानेले कांग्रेसका नेताहरू माथि दिएका अभिव्यक्ति छानबिन गर्न खुला रहेको निर्णय गरेको छ।’

तीन वटा फाइल खोल्ने हिम्मत छ भनेर थानीले गृहमन्त्री लामिछानेलाई प्रश्न पनि गरेका छन्। उनले निर्मला हत्या, गिरीबन्धु टी-इस्टेट र माओवादी लडाकू शिविर घोटलाबारे छानबिन गर्न गृहमन्त्री लामिछानेलाई सांसद थानीले चुनौती दिएका छन्। उनले कालापानीलगायत भूमि नेपालको भएको र यो विषय भारतका प्रधानमन्त्रीसँगको भेटमा प्रमाणसहित नेपालका प्रधानमन्त्रीले कुरा राख्नुपर्ने पनि बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार