ट्रक चालक हत्यामा शिक्षिकासहित विद्यार्थी पक्राउ

२०८१ असार ४, मंगलवार

बैतडी : ट्रक चालकको हत्या गरेको आरोपमा बैतडी प्रहरीले एक शिक्षिकासहित दुई जना विद्यार्थीलाई पक्राउ गरेको छ । घटनामा संलग्न अर्का अटोरिक्सा चालकको खोजी भइरहेको छ ।

प्रहरीका अनुसार शनिवार रातिदेखि बेपत्ता भएका ट्रक चालक बैतडीको पाटन नगरपालिका –६ का ५१ वर्षीय वीरभान विष्टको हत्या गरेको आरोपमा सोही ठाउँकी ३६ वर्षीय शिक्षिका भागरथी विष्ट, पाटन नगरपालिका–१,का  दुई जना विद्यार्थी राजेन्द्र भट्टराई र किशोर भट्टराई पक्राउ परेका छन् । पक्राउ परेका दुई जना विद्यार्थीलाई शिक्षिकाले मोटरसाइकलमा शव लैजान २० हजार रुपियाँ दिएको खुलेको छ । शिक्षिकासँगै हत्यामा संलग्न पाटन नगरपालिका–६,का अटोरिक्सा चालकको खोजी भइरहेको प्रहरीले बताएको छ । रहस्यमय मानिएको हत्याको घटना बैतडी प्रहरीले सात घण्टा नबित्दै प्रमाणसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए ।

उनका अनुसार ट्रक चालक वीरभान असार १ गतेदेखि हराएका थिए । विष्टको हत्या महिलाको घरमा भएको खुलेको छ । हत्या हुनुअघि ट्रक चालक वीरभान विष्ट शनिवार राति महिलाको घरमा पुगेको देखिन्छ । केही समयपछि अटोरिक्सा चलाउने युवा पनि महिलाको घरमा गएको खुल्न आएको प्रहरीले जानकारी दिएको छ । दुई जना पुरुष र महिलाबिच भनाभन हुँदा वीरभान विष्टको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

हत्यापछि वीरभान विष्टको शव मोटरसाइकलमा राखेर पाटन पञ्चेश्वर सडक खण्डको घागा खोलामा फालिएको अवस्थामा सोमबार फेला परेको छ । महिलाले दिएको बयान अनुसार शव ओसार्ने काममा पाटनमा डेरा गरी पढ्दै आएका दुई जना विद्यार्थीको प्रयोग भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए ।

आरोपित शिक्षिकालाई प्रहरीले सोमबार बिहान ९ बजे घरबाटै पक्राउ गरेको हो भने घटनापछि बैतडीबाट फरार भएका दुई जना युवा राजेन्द्र भट्टराई र किशोर भट्टराईलाई डोटीको गैराबाट पक्राउ गरेको छ । घटनामा संलग्न अर्का युवा पाटन नगरपालिका–६,का अटो रिक्सा चालक आशिष पहरीको खोजी भइरहेको प्रहरीले बताएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
4
+1
0
+1
2

ताजा समाचार