काठमाडौँ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन नेकपा विभाजन रोक्न आफूले पहल गरेको भएपनि सफल हुन नसकेको खुलासा गरेकी छन् । ०७७ मा नेकपा विभाजन हुँदा भण्डारी राष्ट्रपतिको भूमिकामा थिइन् ।
शुक्रबार मदन भण्डारी प्रतिष्ठानले धुलिखेलमा गरेको कार्यक्रममा उनले देशका लागि आफूले नेकपा विभाजन रोक्न प्रयास गरेको बताएकी हुन् । भण्डारीले तत्कालीन नेकपाको विभाजनका बेलामा आफूलाई निकै ठुलो चिन्ता लागेको पनि बताइन् । ‘०७७ को कुरा हो । त्यतिबेला मलाईभन्दा बढी पीडा कसलाई थियो होला ?’, भण्डारीले भनिन, ‘झण्डै दुई तिहाइ मत ल्याएको पार्टी यदुवंशी भएर झगडा गरेर फुटेर टुक्राटुक्रा हुन्छ भने मलाई एकदमै चिन्ता हुनु स्वाभाविक हो ।’
उनले अगाडि भनिन्, ‘तपाईं पूर्वराष्ट्रपति भएर यस्तो भन्नुहुन्छ । हिजो एमालेको नेता हुनुहुन्थ्यो । एमालेचाहिँ किन नमिलाएको भन्ने पर्न सक्ला । कोसिस त मैले धेरै गरेको । मैले एमालेको लागि होइन देशका लागि गरेको जनतालाई सम्झेर । राजनीति भनेको राष्ट्रसेवा हो । यो व्यवसाय होइन । समाजसेवा, राष्ट्रसेवा हो ।’
त्यसवेला आफूले खुट्टा समातेर ढोग्नमात्र नसकेको भन्दै नेताहरूले विपक्षसँग साँठगाँठ गरेकाले समस्या आएको बताइन् । उनले एमाले जब अलि अघि बढ्छ त्यतिबेला ठेस लाग्ने गरेको स्मरण गर्दै ०५० सालमा जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्याले राष्ट्रले ठुलो घाटा बेहोरेको बताइन् ।
०५४ सालमा पनि आफूले पार्टी विभाजन गर्न नहुने अडान लिएको भन्दै उनले आन्तरिक रूपमा समाधान गरेर अघि बढ्न आग्रह गरेको स्मरण गरिन्। ‘पार्टी विभाजन गरेर कलंकको टीका नलगाउनुस् भनेको, खरानी हुन तयार छु भने’, भण्डारीले नेता वामदेव गौतमप्रति लक्षित गर्दै भनिन्, ‘अहिले खरानी भएका छन् । सिंगो दलका नेता हुने मान्छे ।’