अब देशले संघीयता थेग्नै सक्दैन : चित्रबहादुर केसी

२०८१ असार १५, शनिबार

काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशले संघीयता अब लामो समय थेग्न नसक्ने बताएका छन्।

शुक्रबार (१४ जेठमा) जनमोर्चा केन्द्रीय कार्यालयले काठमाडौंको रत्नपार्कस्थित शान्ति वाटिकामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले संघीयतालाई जरैबाट फाल्न ढिला गर्न नहुने बताए। संघीयताका कारण देश अधोगतितिर लागेको उनको भनाई थियो। ‘विदेशबाट ऋण खोजेर प्रदेश संरचना पाल्नुपरेको छ। जनतामाथि करको बोझ थुपारेर नेता पाल्ने काम बाहेक संघीयतको केही उपलब्धि छैन’ केसीले भने, ‘अब यसलाई जरैबाट फल्न ढिला गर्न हुँदैन।’

पहिला राजनीति दुर्गती एकठाउँ (संघ)मा मात्रै हुने गरेकोमा अहिले फैलिएर आठ ठाउँमा पुगेको उनको भनाई थियो। उनले स्थानीय तहलाई थप अधिकार दिएर बलियो बनाउनुपर्ने र प्रदेश संरचना खारेज गर्नुपर्ने बताए। अध्यक्ष केसीले देशमा भ्रष्टाचार डरलाग्दो गरी झांगिएको बताए।

राजनीति गर्ने भनेकै कमाउनका लागि हो भन्ने सोचले गर्दा भ्रष्टचारले सबैतिर गाँजेको उल्लेख गरे। उनले नेपाल शक्तिराष्ट्रहरूको चलखेल गर्ने स्थान बनेको भन्दै शासकहरूले आफ्नो कुर्ची जोगाउन राष्ट्रियतामाथि सौदाबाजी गरिरहेको आरोप पनि लगाए। फरक प्रशंगमा अध्यक्ष केसीले सहकारीबाट पीडित जनतालाई सरकारले न्याय दिनुको सट्टा उल्टो ठगहरूको संरक्षण गरेको बताए।

यसअघि केसीले रत्नपार्कमा अनसनरत सहकारी पीडितहरूलाई भेटेर उनीहरूका मागप्रति ऐक्यवद्धता जनाएका थिए। त्यसक्रममा उनले देशभरका पीडितहरू एकजुट हुन र आन्दोलन अघि बढाउन आग्रह गरे। विरोध सभामा नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले देशमा प्रतिगमनको खतरा बढेको उल्लेख गर्दै संघीयताको विरोध गर्दा लोकतान्त्रिक गणतन्त्रको रक्षामा आफ्नो पार्टीले जोड दिएको स्पष्ट पारे।

राष्ट्रिय जनमोर्चाले शुक्रबार देशका विभिन्न स्थानमा संघीयता र भ्रष्टाचारविरुद्ध प्रदर्शन तथा सभा गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार