
काठमाडौँ : नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले एमाले–माओवादी केन्द्रको समीकरण भत्किनुका कारणबारे एमाले अध्यक्ष केपी शर्मा ओलीसँग जवाफ माग गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीकै प्रश्तावमा एमाले–माओवादी केन्द्रको समीकरण बनेको भएपनि बिना कारण समीकरण भत्काइएको बताए । उनले समीकरण सुरु गर्नुको उद्देश्य र भत्काउनुको कारणका बारेमा ओलीले प्रष्ट पार्नुपर्ने बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको कार्यभार पूरा गरिरहेको अवस्थामा समीकरण तोड्नुको कारण के हो ? प्रश्न गरे ।
उनले भने, ‘प्रश्न गर्नुपर्छ, केपी ओलीलाई । यहाँले जुन उद्देश्यसहित सहकार्य सुरु गर्नुभयो । अहिले कुन उद्देश्यसँग केन्द्रीत भएर यो सहकार्य तोड्नुभयो ? जुन उद्देश्यसहित केन्द्रीत रहेर सत्ता सहकार्य सुरु गर्यौँ, जतिबेला हामीले सत्ता सहकार्य सुरु गरेका थियौँ प्रचण्डले लिनुभएको सुशासन, समृद्धि र सामाजिक न्यायको केन्द्रीय कार्यभार पूरा गर्ने सङ्कल्प पछि हटेको थिएन । उहाँलाई थाहा थियो । पछिल्लो समय के कारणले हामी बिचको समीकरण तोडियो ? यो त जवाफ दिनैपर्छ ।’
उनले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति नर्गनाले वा बेचन झा र प्रतिक थापालाई पक्राउ गर्नाले समीकरण भत्काएको हो भनेर उनले प्रश्न गरे । चुनावी घोषणापत्रमा संविधान संशोधनको मुद्दा राखेको भएमात्रै संविधान संशोधन गर्न पाउने भन्दै सांसद दाहालले जनतालाई नझुक्याउन चेतावनी दिए ।
‘के कारणले सहकार्य सुरु गर्यौँ ? र के कारणले हाम्रा समीकरण भत्किए ? चार महिनाको बिचमा प्रधानमन्त्रीको तर्फबाट के गर्नुपर्थ्यो र के गर्नु भएन ? भन्ने विषयमा पनि यहाँले जवाफ दिनैपर्छ । के धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती गर्न सकिएन त्यसकारण सहकार्य टुट्यो ? भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्दै जाने क्रममा बेचन झा र प्रतिक थापाको गिरफ्तारी भयो । त्यही कारणले सहकार्य टुट्यो ? जवाफ त दिनैपर्छ,’ उनले भने, ‘संविधान संशोधनसँग जोडिएर सहमति भएको विषयवस्तु उठेका छन्, संविधान संशोधन त्यतिबेला गर्न पाउनुहुन्छ, जतिबेला तपाईहरुले निर्वाचनमा चुनावी घोषणापत्रमा संविधान संशोधनका मुद्दा राख्नुपर्थ्यो । जनतालाई झुक्याउने ?’
सांसद दाहालले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको लागि संविधान संशोधन गर्न सकिने बताए । उनले कांग्रेस र एमालेका बीचमा भएको भनिएको सहमतिलाई बदनियतपूर्ण र प्रतिगामी सहमति भएको टिप्पणी गरे ।