
काठमाडाैं : नेकपा एमालेका सांसद दयालबहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई महाभारतको पात्र हिरण्यकश्यप जस्तो ठानेपछि कांग्रेस–एमाले नरसिंह अवतारमा आएको टिप्पणी गरेका छन् । राजनीतिमा प्रचण्ड ब्वाँसोका रूपमा प्रकट भएको उनले आरोप लगाए ।
मंगलवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै एमाले सांसद शाहीले प्रचण्डले आफूजति बाठो कोही छैन भन्ने जसोगरी कांग्रेस र एमालेलाई खेलाएपछि नयाँ गठबन्धन बनेको बताएका हुन् । ‘हिरण्यकश्यपको कथा छ, हिरण्यकश्यप आफू जति बाठो कसैलाई नठान्ने, यति बलियो कि सिंहले पनि मार्न नसकोस् भन्ने थियो । विष्णुले नरसिंह अवतार लिनुभयो । अहिले कांग्रेस र एमालेको अवतार त्यही हो,’ शाहीले भने, ‘प्रचण्डले आफूलाई कांग्रेस र एमालेले सिध्याउन नसक्ने ठान्नुहुन्थ्यो, अहिलेको गठबन्धन आवश्यकताको उपज हो ।’
श्रीमद्भागवत पुराणमा भगवान ब्रम्हाबाट बरदान पाएर हिरण्यकश्यप शक्तिशाली भएको र उनलाई भगवान विष्णुको नरसिंह अवतारले नै सिद्धयाएको उल्लेख छ । एमाले सांसदले सो प्रसंग जोड्दै कांग्रेस एमालेले नै प्रचण्डलाई ठेगान लगाएको बताए । प्रचण्डले ‘हिट एण्ड रन’को सिद्धान्तअनुसार कांग्रेस र एमालेलाई पटकपटक धक्का दिएको टिप्पणी गरे ।
प्रचण्ड अहिले आफ्नो डुब्न लागेको जहाज उद्धारको पर्खाइमा रहे पनि महाभारतका कर्ण र भीष्मपितामह ढलिसकेको शाहीले टिप्पणी गरे ।‘तपाईको डुब्न लागेको जहाज एमालेबाट झरेका पात र जीबी (जीबी राई) को फोहोरमा उम्रेका च्याउले गर्न सक्दैनन् । झारपात र च्याउले देश थाम्न सक्दैनन्,’ शाहीले भने ।
शाहीले प्रचण्ड लाज पचाएर प्रधानमन्त्री माग्दै बालकोट गएको समेत आरोप लगाए । ‘उहाँले अर्को जनावरको कला सिक्नुभएको छ, सुमसुम्याएर सिद्धयाउने कला ब्वाँसोजस्तै । सुम्सुम्यापछि भैंसीले मेरो लुतो सिध्याउन आयो भनेर ठान्छ, पछि ब्वाँसोले भैंसीलाई पनि ढाल्छ,’ शाहीले भने ।