
जनकपुरधाम : मधेश सरकारलाई दिएको समर्थन नेपाली कांग्रेसले फिर्ता लिने भएको छ । मन्त्रालय बाँडफाँटमा सहमति नभएपछि कांग्रेसले समर्थन फिर्ता लिने चेतावनी दिएको हो ।
स्रोतका अनुसार कांग्रेसले अर्थसहित चार मन्त्रालय मागेको छ । तर मुख्यमन्त्री सतिश कुमार सिंहले अर्थ आफैं राख्ने अडान लिएका छन् । पटक पटक छलफल भएपनि मुख्यमन्त्रीले अर्थ दिन अस्वीकार गरेपछि कांग्रेस वर्तमान सरकारको विकल्प खोजेको छ । कांग्रेस मधेश प्रदेशका प्रमुख सचेतक कुमरकान्त झाले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताए । उनले भने, ‘ बिहिबार संसदीय दलको बैठक बस्दैछ । बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय लिन्छ ।’
उनले आफूहरुसँग मुख्यमन्त्रीले गरेको सहमति पालना नगरेको आरोप लगाए । उनले सहमतीको पालना नगरेकाले समर्थन फिर्ता लिएर नयाँ सरकार गठन प्रक्रियामा अगाडी बढ्ने बताए । उनले अर्थ मन्त्रालय नदिएपछि समर्थन फिर्ता लिन लागेकोबारे खुल्न चाहेनन् । कांग्रेसले जनार्दनसिंह क्षेत्री, सुनिल यादव, शेषनारायण यादव र कौशलकिशोर रायलाई सरकारमा पठाउने निर्णय गरिसकेको छ । स्रोतका अनुसार असार २३ मै मन्त्रीहरु शपथग्रहणका लागि तयार भइसकेका थिए । तर मुख्यमन्त्रीले अर्थ मन्त्रालय नदिने भनेपछि कांग्रेस पछि हटेको थियो ।
मधेशका मुख्यमन्त्री सिंह जनमत पार्टीका हुन् । कांग्रेस समर्थन फिर्ता लिएसंगै उनी नेतृत्वको सरकार अल्पमतमा पर्नेछ ।