काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बाँकी कार्यकालमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आलोपालो प्रधानमन्त्री बन्ने सहमती भएको बताएका छन् ।
बिहीवार ६२ औँ इन्जिनियर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्ष सरकारको नेतृत्व गर्ने बताएका हुन् । उनले नेपाली काँग्रेस र नेकपा(एमाले)का बीचमा भएको सहमतीका आधारमा बाँकी रहेको कार्यकालमा काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने स्पष्ट पारे ।
‘अघिल्लो दुई वर्ष नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यो सरकारको नेतृत्व गर्नुहुनेछ । त्यसपछिका झन्डै डेढ वर्षभन्दा अलि बढी पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेतृत्व गर्नुहुनेछ,’उनले भने,‘यो खुल्ला छ । त्यसले गर्दा स्थायित्व यसले खोजेकै हो । यसलाई सफल बनाउने हो । अब यसलाई असफल हुने छुट छैन । सफल बनाउनुपर्छ ।’
उनले काँग्रेस र एमालेका बीचमा भएको सहमती नलुकाइएको पनि बताए । उनले राजनीतिक स्थायित्वका लागि दुई ठूला दलहरु मिलेर सरकार बनाएको बताए । मन्त्री दाहालले सरकारलाई असफल हुने छुट नभएको पनि बताए ।