प्रधानमन्त्रीसँग साउन ७ गते संसद्‍मा प्रश्नोत्तर

२०८१ श्रावण ४, शुक्रबार

काठमाडौँ : यही साउन ७ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग संसद्‍मा पहिलो पटक प्रश्नोत्तर हुन लागेको हो । सभामुख देवराज घिमिरे र संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकबीचको छलफलपछि प्रधानमन्त्रीसँगको प्रश्नोत्तर साउन ७ गर्ने तयारी भएको हो।

सचिवालयले तयार पारेको मसौदा क्यालेन्डरलाई आज बस्ने संसदको कार्यव्यवस्था परामर्श समितिले अन्तिम रूप दिने संसद सचिवालयले जनाएको छ। एमालेका मुख्य सचेतक महेश बर्तौलाले ७ गते प्रश्नोत्तर गर्ने गरी दुई साताको प्रतिनिधि सभाको कार्यतालिका तय भएको जानकारी दिए। कार्यतालिकामा यसअघि झैँ सभा र समितिका लागि सातामा तीन तीन दिनको समय तोकिएको छ।

प्रतिनिधि सभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग सांसदहरुले प्रत्यक्ष प्रश्न गर्न पाउने व्यवस्था छ। नियमावलीले प्रत्येक महिनाको पहिलो साताको कुनै एक दिनको बैठकको एक घण्टा प्रश्नोत्तर हुने व्यवस्था गरेको छ। सभामुख र दलहरुबीचको परामर्शमा तय भएको कार्यतालिकामा साउन ६, ७ र ८ गते प्रतिनिधि सभा बैठक बस्ने। यस्तै ९, १० र ११ गते समिति सञ्चालनको समय तोकिएको छ।

त्यसैगरी साउन दोस्रो साताको १३, १४ र १५ गते पनि प्रतिनिधि सभा सञ्चालनको प्रस्ताव गरिएको छ। औपचारिक रूपमा कार्यतालिका भने आजको बैठकबाट टुंगिने छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो आइतबार (साउन ६ गते) विश्वासको मत लिने तयारी गरेका छन्।

प्रधानमन्त्री ओलीले संघीय संसदका महासचिवलाई बुधबार पत्र लेखी विश्वासको मत लिनका लागि आवश्यक व्यवस्था गरिदिन भनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार