काठमाडौं : रुसको सैन्य भ्रमण दल उत्तर कोरिया पुगेको छ । रुसी विश्व च्यानल आरटीका अनुसार शुक्रवार उत्तर कोरियाली राजधानी पुगेको भ्रमण दलको नेतृत्व रुसका उपरक्षामन्त्री एलेक्सी क्रिभोरुच्कोले गरेका छन् । उत्तर कोरियाली सत्ताधारी दल कोरियाली श्रमिक पार्टीको मुख्यालयमा दुई पक्षको भेटवार्ता भएको हो ।
भेटवार्तामा किम जोङ उनले रुसी राष्ट्रपति पुटिनलाई धन्यवाद दिएका थिए भने उनले युक्रेन युद्धमा उत्तर कोरियाको साथ रुसलाई भएको पनि उनले बताएका छन् ।
गत महिना रुसी राष्ट्रपति भ्यादिमिर पुटिन उत्तर कोरिया पुगेका थिए । उनको भ्रमणमा दुई देशका आर्थिकदेखि सैन्य मोर्चाका विभिन्न सम्झौताहरू भएका थिए । एक अर्कालाई रणनीतिक साझेदारको रूपमा व्याख्या गरेर सम्झौताहरू भएका थिए ।
पुटिनको भ्रमणपछि भएको रुसी सैन्य दलको भ्रमणलाई दुई देशको सैन्य क्षेत्रमा बढ्दो सहकार्यको रूपमा हेरिएको छ । युक्रेन युद्धमा उत्तर कोरियाले मिसाइल तथा गोलीगठ्ठा सहयोग गरेको तथा उत्तर कोरियाको भूउपग्रह कार्यक्रममा रुसले साथ दिएका खबरहरू यस अगाडि नै सार्वजनिक भइसकेका छन् ।