काठमाडौँ : एसिसी महिला एसिया कप २०२४ को उद्दघाटन खेलमा यूएईले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपालले आफ्नो दोस्रो विकेट गुमाएको छ।
पहिलो पाँच ओभरमा उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेको नेपालको सो पछि लगातार विकेट पतन भएको हो।
छैठौं ओभरको पहिलो बलमा सिता रानामगर ७ रनमा क्याच आउट हुन पुगिन् । आठौं ओभरको तेस्रो बलमा कविता कुँवर २ रनमा क्याच आउट भइन् । दुवैलाई कभिसा गोडागले पवेलियनको बाटो देखाइन् ।
श्रीलंकास्थित दाम्बुला क्रिकेट स्टेडियममा जारी खेलमा नेपालले ८ ओभरको खेल सकिँदा २ विकेटको क्षतिमा ५२ रन बनाएको छ। क्रिजमा सम्झना खड्का र क्याप्टेन ईन्दु बर्मा छन्। यसअघि नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरेको यूएईले निर्धारित ओभरमा ८ विकेट गुमाएर ११५ रन बनाएको थियो।
यूएईका लागि खुशी शर्माले सर्वाधिक ३६ र कभिसा गोडागले २२ रनको योगदान गरे। नेपालका लागि कप्तान इन्दु बर्माले ३ तथा कृतिका मरासिनी र सबनम राईले एक एक विकेट लिए। दुई जना रनआउट भए। समूह ए मा रहेको नेपालले पाकिस्तानविरुद्ध जुलाई २१ मा र भारतविरुद्ध जुलाई २३ मा प्रतिस्पर्धा गर्नेछ।
समूह बी मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन्। प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्।