
काठमाडौँ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटना परेकाहरूको शव पहिचान गर्ने काम सकाएर भोलिसम्म आफन्तलाई बुझाउने बताएका छन्।
बिहीवार बिहान त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा दुर्घटना परी ज्यान गुमाएका आफन्त र घाइतेको अवस्था बुझ्न पुगेका मन्त्री पौडेलले मृतकहरुको फिंगर प्रिन्ट्स, दाँतबाट र शरीरका विभिन्न संकेतबाट पहिचान गर्ने काम भइरहेको जानकारी दिए।
स्वास्थयमन्त्री पौडेलले बेलुकासम्म सबैको पहिचान गरिसक्ने र शुक्रबार बेलुकासम्म आफन्तलाई जिम्मा लगाउने गरी काम भइरहेको बताए।
उनले भने, ‘फिंगर प्रिन्ट्स, दाँतबाट र शरीरका विभिन्न संकेतबाट पहिचान हुन नसके डिएनए गर्नुपर्ने र डिएनए गर्नुपरेको खण्डमा समय लाग्ने रहेछ। डिएनएको समय तीन, चार दिन लाग्न सक्ने कुरा आएको छ। यी तीन कुराबाट पहिचान भएको शवलाई भोलि बेलुकासम्म रिलिज गर्न सकिन्छ।’
उनले थपे, ‘छिटो भन्दा छिटो शव पहिचान गर्नेगरी काम भइरहेको छ। हिजो ४ वटा भएको छ। त्यसलाई म्याचिङ गर्न बाँकी छ। अहिले तीन वटाको काम भइरहेको छ। बेलुकासम्म शव पहिचान हुन्छ। पहिचान हुन सकेको शवहरु भोलिसम्म आफन्तलाई जिम्मा लगाइने भनिएको छ।’