काठमाडौं : टोखा नगरपालिका–६ धापासी हाइटस्थित पिपलबोट चुनदेवी मन्दिर नजिक करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा काभ्रेको भुम्लु गाउँपालिका–३ घर भई बिजुलीको काम गर्ने २० वर्षीय नवीन पहारी छन् । घाइते हुनेमा दार्चुला घर भई बिजुलीकै काम गर्दै आएका २५ वर्षीय अनिल धामी छन् ।
पहारीको उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसो साढे ३ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।
अर्का घाइते धामीको भने ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । करेन्टले उनको दुवै हात जलेको छ । बिजुलीको काम गर्ने क्रममा दिउँसो साढे २ बजे उनीहरुलाई करेन्ट लागेको थियो ।