काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले संवैधानिक परिषदमा बहुमत पुर्याउनका लागि उपसभामुख इन्दिरा राना जोडिएको विषय सार्वजनिक भएको जनाएकाे छ।
बिहीबार केन्द्रीय समिति बैठकपछि पत्रकारहरूले राखेको प्रश्नको जवाफ दिँदै पार्टीका सहप्रवक्ता मनीष झाले यस्ताे बताएका हुन्। केही कमजोरी भएको स्वीकार गर्दै झाले भने, ‘हाम्रो आशंका के छ भने संवैधानिक परिषदमा बहुमत पुर्याउनका लागि त्यो तस्बिर (पत्र) लिक गरेको हो। यो गलत अभ्यास हो।’
इलामको उपनिर्वाचनको पूर्वसन्ध्यामा यो विषय पार्टीमा जानकारी भएपछि आन्तरिक रूपमा छानबिन भएको बताउँदै उनले १८ महिनापछि चुनावकै वेला पत्र सार्वजनिक गर्नुमा आशंका व्यक्त गरे। ‘योभन्दा अगाडि उपनिर्वाचनमा तत्कालीन सांसद ढाकाकुमार श्रेष्ठको इस्यू आएको थियो। यसपालिको उपनिर्वाचनमा यो इस्यू आयो। यो पत्रको मिति पनि १८ महिना अगाडिको रहेछ। यसलाई अहिलेसम्म थाती किन राखियो?’
आफूहरूको सूत्रबाट अमेरिकी दूतावासमा बुझ्दा सार्वजनिक भएको पत्र त्यहाँ दर्ता नै नभएको खुलेको उनको दाबी छ। आरोप लगाइएकोजस्तो आर्थिक चलखेल भएकोसमेत नपाइएको उल्लेख गर्दै उनले भने, ‘यसमा आशय पनि गलत छैन, नियत पनि गलत छैन र यसको प्रभाव पनि गलत कतै परेको छैन।’
यद्यपि, राजनीतिक रूपमा भने सजग हुनुपर्ने सहप्रवक्ता झाले स्पष्ट पारे। उपसभामुखमा निर्वाचित भएपछि राना पार्टीको साधारण सदस्यसमेत नरहेको उल्लेख गर्दै उनले रानाको विषयमा निर्णय गर्ने अधिकार पार्टीलाई नभएको समेत प्रस्ट्याए।
राज्य व्यवस्था समितिका सभापतिले कुनै आधारविना नै ‘मानव तस्कर’ भनेको विषयमा आपत्ति जनाउँदै उनले भने, ‘त्यो माननीय जो आफैँ राज्य व्यवस्था समितिको सभापति हुनुहुन्छ। उहाँको समितिमा उजुरी परेको छ यो बारेमा। उजुरीको छानबिन भएको छैन, छलफल भएको छैन, निर्णय भएको छैन। अनि त्यो व्यक्तिले मानव तस्कर घोषणा गर्ने?’