मुख्यमन्त्री सोडारीले बुझाए प्रदेश प्रमुखलाई राजीनामा

२०८१ श्रावण १८, शुक्रबार

काठमाडौँ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले प्रदेश प्रमुख नजिर मियाँलाई राजीनामा बुझाएका छन्। शुक्रबार प्रदेशसभामा राजीनामाको घोषणा गरेका मुख्यमन्त्री सोडारीले लगत्तै प्रदेश प्रमुख मियाँलाई भेटेर राजीनामा बुझाएका हुन्।

प्रदेश सभामा अल्पमतमा परेका सोडारीले शुक्रबार विश्वासको मत लिने घोषणा गरेका थिए। तर, उनले विश्वासको मत नलिई राजीनामाको घोषणा गरेका थिए। नेपाली कांग्रेससँग सहमतिपश्चात असार २८ गते नेकपा एमालेले सोडारी सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको थियो। त्यसपछि संविधानअनुसार पाउने ३० दिनको सुबिधा उपभोग गरेर सोडारीले शुक्रबार राजीनामा गरेका हुन्।

योसँगै प्रदेशमा नयाँ सरकार निर्माणका लागि नेपाली कांग्रेस र नेकपा एमालेलाई बाटो खुलेको छ। यहाँ कांग्रेसको नेतृत्वमा सरकार बनाउने कांग्रेस–एमालेको सहमति छ। ५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १८, एमालेका ११, नेकपा माओवादी केन्द्रका सभामुखसहित ११, नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपा र स्वतन्त्र १/१ सांसद छन्।

कांग्रेस–एमालेलाई सरकार बनाउन पर्याप्त बहुमत छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार