‘लोकतन्त्र छ भन्दैमा मनपरी गर्न पाइँदैन, समाजलाई बिथोल्न पाइँदैन’ : सोभिता गौतम

२०८१ भाद्र ८, शनिबार

काठमाडौँ : तीजलाई लक्षित गर्दै निर्माण गरिएको गायिका कविता अर्यालको ‘तीजका गीत कस्ता बने’ बोलको गीत लोकार्पण गरिएको छ । शुक्रबार राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले ललितपुर स्थित न्यु मिलेनियम स्कुलमा आयोजना एक कार्यक्रममा वरिष्ठ लोकगायक तथा चलचित्र निर्देशक नारायण रायमाझी, विशिष्ट अतिथि प्रतिनिधि सभा सदस्य सोभिता गौतम, चलचित्र पत्रकार सङ्घका उपाध्यक्ष कुबेर गिरीलगायतले सामूहिक लोकार्पण गरे ।

कार्यक्रममा गीतको भिडियो पनि देखाइएको थियो । भिडियो हेरिसकेपछि प्रमुख अतिथि रायमाझीले गायिका कविताले मौलिकतालाई ध्यान दिएर गीत निर्माण गरेकोमा धन्यवाद दिए । पछिल्लो समय तीजको मर्म बोल्ने गीतहरू कम भएकाले यस्ता गीत बन्नुपर्नेमा जोड दिए । रायमाझीले पहिले चेलीको कथा तीजका गीतमा आउँथे तर अहिलेका गीतमा त्यो मर्म नभेटिएको भन्दै श्रृष्टा आफै सुध्रिनुपर्ने बताए ।

‘केहि समय अघिसम्म दुर्गेश थापाको गीत आउँदा विकृति ल्यायो भन्थे तर अहिले ती भन्दा कस्ता कस्ता गीत आएका छन् । जुन गीतहरू सुन्न पनि अप्ठ्यारो लाग्छ’ रायमाझीले भने ।

यस्तै प्रतिनिधि सभा सदस्य सोभिता गौतमले तीजको इतिहास आजको गीतबाट जान्ने मौका पाएको बताइन् । उनले भनेकी छिन्, ‘यो तीजको गीत मात्र नभएर इतिहास बनेर बस्नेमा विश्वास लिएकी छु ।’

‘देश बदलिन, समाजमा रहेका हरेक व्यक्ति बदलिनु आवश्यक छ । समाजका हरेक क्षेत्रका व्यक्तिको नेतृत्व बदलिनु पर्छ । त्यसमा पनि कला क्षेत्रमा रहेका व्यक्तिहरूले समाज परिवर्तनमा ठुलो भूमिका खेल्छन् । त्यसैले कलाकर्मीले विशेष ध्यान दिनुपर्छ’ गौतमले भनिन् । ‘लोकतन्त्र छ भन्दैमा मनपरी गर्न पाइँदैन, समाजलाई बिथोल्न पाइँदैन ।’

उनले पछिल्लो समय देखिएको विकृतिले गीतसङ्गीतमा पनि चलचित्रमा जस्तै सेन्सरसिपको आवश्यकता महसुस भएको बताइन् । उनले भनेकी छिन्, ‘चलचित्रलाई नियमन गर्न सेन्सर गर्ने निकाय छ । यस्तै गीतसङ्गीतलाई पनि नियमन गर्ने निकायको आवश्यक महसुस भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार