पर्सा : जिराभवानी गाउँपालिका-५ मा बाघको आक्रमणबाट एक वृद्धको ज्यान गएको छ । सोही वडाका ६० वर्षीय तुलसी राउत थारूको बाघको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक मोहनजङ्ग बुढाथापाले जानकारी दिए ।
घर नजिकको जङ्गलमा शुक्रबार अपरान्ह घाँस काट्न गएका थारू रातिसम्म घर नफर्किएपछि परिवारजन शनिबार बिहान खोजीका लागि जंगल गएका थिए । जंगलको करिब २ सय ५० मिटर भित्र उनको शव फेला परेको थियोे ।
बाघले थारूको दाहिने खुट्टा र देब्रे हातमा आक्रमण गरेको प्रहरी निरीक्षक बुढाथापाले बताए । उनको शव पोस्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको छ । मानव बस्तीको करिब १ किमिसम्मै बाघ आइपुगेकाले नियन्त्रणका लागि पर्सा रास्ट्रिय निकुञ्जलाई सूचना गरिएको र निकुन्ज्को टाेली घटनास्थलतर्फ आउन लागेको उनले जानकारी दिए ।