तिलोत्तमा : रूपन्देहीको देवदह नगरपालिकामा तीजको दर खाएपछि २ दर्जन बढी स्थानीय बिरामी परेका छन् । नगरको वडा नं. ५ र ६ का महिला र पुरुषले सामूहिक दर खाएपछि उनीहरूलाई स्वास्थ्य समस्या भएको हो ।
भदौ ६ गते सहारा आमा समूहमा आबद्ध महिलासहित उनीहरूका परिवार सहभागी भई सामूहिक दर खाएका हुन् । बिहानै खाजा पकाइ खाएर बुटवलको फूलबारी घुमी फर्केका उनीहरूले पुनः खाना खाई रमाइलो गरेर घर गएको नगरका प्रवक्ता गणेश डुम्रेले बताए । उनका अनुसार भदौ ७ गते दर खाने कार्यक्रममा ४० घरपरिवार सहभागी थिए तीमध्ये १७ घरका महिला र केही पुरुषलाई स्वास्थ्य समस्या सुरु भएको छ ।
उनीहरूलाई वान्ता हुने, पखाला लाग्ने र उच्च ज्वरो आएपछि नगर अस्पताल, स्थानीय गिरी मेडिकल हलमा उपचारका लागि लगिएको थियो । उपचारपछि सामान्य बनेका केही महिला घर गइसकेका छन् भने केहीको उपचार जारी छ । भदौ ७ गते दिउँसोदेखि दर खाएका पुरुषलाई पनि उही समस्या सुरु भएको डुम्रेले जानकारी दिए । उनीहरूको समेत सोही अस्पताल, मेडिकल तथा देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ ।
गिरी मेडिकलका संचालक छविराज गिरीका अनुसार खानामा केही तादात्म्यता नमिल्दा बिरामी परेको हुन सक्ने बताए । उनले बिरामीले अचार, मासु, तरकारी सबै चिज खाएको र तीनैमध्ये केही खाद्यान्न नमिल्दा यसरी असर गरेको हुन सक्ने बताए ।