काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०६४ सालको निर्वाचनमा माओवादीलाई भोट हाल्नेहरुको सूची बनाउन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
शनिबार पार्टीको नुवाकोट काठमाडौं सम्पर्क समन्वय समितिले गरेको कार्यक्रममा उनले ०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा माओवादी ठूलो पार्टी हुँदा भोट दिनेहरुको सूची बनाउन आग्रह गरेका हुन् ।
‘२०६४ को निर्वाचनमा हामीलाई भोट हाल्ने जनताको घरघरमा जानुपर्यो । पहिला लिस्ट बनाउनुपर्यो र ती सबैसँग सम्पर्क गर्नुपर्यो । उनीहरुसँग आत्मसमीक्षा गर्नुपर्यो । तपाईहरुले हामीलाई ठूलो आशा भरोसा गरेर धेरै भोट दिनुभयो हामीले भन्याजस्तो गर्न सकेनौं, विवादित भयौं, हामीले गल्ती गर्यौं, अहिले हामीले गल्ती सच्यायौं, एकतावद्ध भयौं । अब हामी सुशासन र तपाईहरुको पक्षमा लड्न चाहन्छौं, तपाईहरुले एकचोटी फेरि मद्दत गर्नुस् भन्नुपर्यो’, प्रचण्डले भने ।
त्यस्तै ०६४ मा माओवादीलाई मत दिनेहरुका छोराछोरी अहिले आफैं मतदाता भइसकेको भन्दै उनीहरुको पनि खोजी गर्नुपर्ने प्रचण्डले बताए । ‘तिनीहरुको पनि तथ्यांक संकलन गर्नुपर्यो, देशभित्र कहाँ छन्, काठमाडौंमा छन् कि मध्यपूर्वमा छन् कि युरोपमा छन् कहाँ छन् पत्ता लगाउनुपर्यो र तिनीहरुसँग पनि अपिल गर्नुपर्यो’, उनले भने ।