काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली वृहत् तिज विशेष कार्यक्रममा सहभागी भएका छन्। शनिबार नेकपा (एमाले) झापा–काठमाडौं सम्पर्क मञ्चले तीजका अवसरमा आयोजना गरेको विशेष कार्यक्रममा उनी पुगेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली समाज मर्यादित समाज भएको बताए। नेपाल फरक कला, संस्कृति र सभ्यताको देश भएकाले यहाँ अश्लीलता फैलाउन सम्भव नहुने उनले तर्क गरे।
“नेपाली समाज मर्यादित समाज हो। यहाँ अश्लीलता र सामाजिक घृणा फैलाउन सम्भव छैन।” उनले भने। प्रधानमन्त्री ओलीले देश, समाज, परिवार र आफैलाई माया गर्नुपर्ने उल्लेख गर्दै एकापसमा माया फैलाउनुपर्नेमा जोड दिए।
“मायाले निद्रा र थकाइ बिर्साउँछ। दिदीबहिनी र दाजुभाइमा तीजले ममता बढाउँछ। यस्ता महत्त्वपूर्ण चाडले नेपाली समाजलाई एकताको सूत्रमा बाँध्ने काम गर्छ।’’ उनले भने।