काठमाडौँ : राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा सबै अटाउन सक्ने मौलिक प्रजातान्त्रिक व्यवस्था आवश्यक भएको बताएका छन्।
शनिबार काठमाडौंको थानकोटमा आयोजित एक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले विदेशी प्रभाव र दबाबमा लादिएको व्यवस्था टिकाउ नहुने समेत बताए। गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयताको विकल्प राप्रपा नेपालसँग मात्र भएको बताउँदै थापाले सनातन हिन्दु राष्ट्र र राजा सहितको प्रजातन्त्रले मुलुकलाई दिगो बनाई राख्ने जिकिर गरे।
सङ्घीयताको स्वरुप नबदली आर्थिक रुपमा संघीयता मुलुकले धान्न नसक्ने भन्दै प्रदेश संरचना आवश्यक नभएको उनको भनाइ थियो। भ्रष्टाचार, बेरोजगारी, धर्म परिवर्तन र कुशासनको दलदलमा मुलुक भासिएको भन्दै अब नयाँ राष्ट्रवादी आन्दोलन मुलुकको लागि जरुरी भएको नेता थापाले उल्लेख गरे।
राप्रपा नेपाल उठाउने र बनाउनेमा कसैले शंका नगर्न तर निरन्तर मेहनत गर्न कार्यकर्तालाई थापाले आग्रह गरे। कार्यक्रममा उपाध्यक्ष डाक्टर विष्णु भण्डारी, उत्तम लामा ,उज्ज्वल पोखरेल लगायतले सम्बोधन गरेका थिए।