नेपाल फर्कन लागेका ५०० यात्रु केरुङमा रोकिए

२०८१ भाद्र ८, शनिबार

रसुवा : वर्षाका कारण चीनतर्फको सडकमा क्षति हुँदा मानसरोवर कैलाश दर्शनका निम्ति जाने दर्शनार्थी प्रभावित भएका छन् ।

रसुवाका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले रसुवागढीको मितेरीपुलबाट पाँच किलोमिटर उत्तर चिनियाँ भूभागअन्तर्गत केरुङखोलामा आएको बाढीले राजमार्ग कटान गर्दा सवारी आवागमन बन्द भएको जानकारी दिए ।

यातायातका साधन बन्द भएपछि कैलाशबाट नेपाल फर्कन लागेका करिब ५०० यात्रु केरुङमा र तीर्थ जाँदै गरेका १०० जना रसुवागढीमा रोकिएका छन् । उनीहरूको सहयोगार्थ नेपाल प्रहरी र सशस्त्र प्रहरी बल २० नं गुल्म रसुवाले समन्वय गरिरहेको प्रजिअ खनालले जानकारी दिए ।

राजधानी काठमाडौंदेखि केरुङसम्म करिब १७१ किमि दूरी रहेको बताइन्छ । चाँडोे राजमार्ग खुलाई कैलाश दर्शनका निम्ति हिँडेका यात्रुलाई सहज पारिदिन केरुङ प्रशासकलाई अनुरोध गरिसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । टिमुरे क्षेत्रमा रोकिएका यात्रुको सहयोगका निम्ति नेपाल प्रहरीले समन्वय गरिरहेको प्रहरी नायब उपरीक्षक केशव भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार