काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। बागमती प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधरणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।