काठमाडौं : काठमाडौंका नगर प्रहरीहरुले बाटो किनारमा बसेर चिया बेच्ने एक व्यक्तिलाई लछारपछार गरेको भिडियो अहिले सामाजिक सञ्जालमा सर्वत्र भएको छ ।
सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा आधा दर्जन बढी नगर प्रहरीको समूहले एक व्यक्तिलाई जबरजस्ती भ्यानमा कोच्न खोजिरहेको देखिन्छ । ती व्यक्तिले ‘ऐया ! ऐया !!’ भनिरहेको सुनिन्छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुका अनुसार सो भिडियो बाँसबारीस्थित गंगालाल मुटु रोग अस्पताल अगाडि सडकको हो । नगर प्रहरीले एक चिया व्यापारीलाई लछारपछार गरेका हुन् ।
यता सो भिडियोको वास्तविकताबारे आफूले बुझ्न नपाएको काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताएका छन् । ‘मैले पनि भिडियो हेरेँ, त्यो घटना के हो ? ड्युटीमा को थियो बुझ्दै छु,’ उनले भने ।
सडक र बजार व्यवस्थित बनाउने नाममा काठमाडौं महानगरपालिकाका नगर प्रहरीहरुले फुटपाथमा बसेर व्यापार गर्नेहरुलाई दुव्र्यवहार गरेका घटना बेला बखत सार्वजनिक हुने गरेका छन् । यसअघि साइकलमा डुलाएर आँप बेचिरहेका मधेशी मूलका व्यक्ति, सडक किनारमा मकै पोलिरहेकी महिला, थापाथलीमा चिया बेचिरहेकी महिलाका सामान खोसिएका भिडियोहरु सार्वजनिक भएका थिए ।