जसपा नेपालले आज आधारभूत सङ्गठन निर्माण अभियानको उद्घाटन गर्दै

२०८१ भाद्र ९, आईतवार

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) नेपालको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ उद्घाटन गर्न लागेको छ ।

बागमती प्रदेश अन्तर्गतका सबै जिल्लाहरु र काठमाण्डौमा उपलब्ध केन्द्रीय अभियन्तालाई अभियानको उद्देश्य र लक्ष्यबारे प्रशिक्षण गर्ने गरी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आइतबार अभियानको आज उद्घाटन गर्न लागेका छन् । काठमाण्डौको थापागाउँस्थित काठमाण्डौ ब्याङ्क्वेटमा दिउँसो १२ः३० बजे चार महिने अभियानको उद्घाटन भएसँगै पार्टीको आधारभूत सङ्गठन निर्माण अभियान प्रारम्भ हुनेछ ।

सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाही जिल्लाको लागि मधेस प्रदेशको जनकपुरमा भदौ १५ गते अभिमुखीकरण कार्यक्रम हुनेछ भने रौतहट, बारा, पर्सा र हेटौडासमेतका अभियन्ताका लागि भदौ १६ गते वीरगञ्जमा अभिमुखीकरण कार्यक्रम राखिएको छ । कोसी प्रदेशको बिराटनगरमा भदौ १८ गते अभियन्ताहरुको अभिमुखीकरण कार्यक्रम आयोजना हुनेछ ।

त्यसैगरी लुम्बिनी प्रदेशका लागि भैरहवामा भदौ २३ गते र नेपालगञ्जमा भदौ २४ गते अभिमुखीकरण कार्यक्रम हुनेछ । भैरहवामा नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङका अभियन्ताका लागि र नेपालगञ्जमा बाँके, बर्दिया तथा कर्णाली प्रदेशका अभियन्ताहरुलाई अभिमुखीकरणमा सहभागी गराइनेछ ।

गण्डकी प्रदेशको पोखरामा र सुदुरपश्चिमको धनगढीमा भदौ २५ गते अभिमुखीकरण हुनेछ । जसपा नेपालको केन्द्रीय समितिको बैठकले सबै केन्द्रीय सदस्यहरुलाई पालिकामा सङ्गठन निर्माणका लागि खटाउने गरी अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार