काठमाडौँ : प्रोफेसनल एडुकेसन कन्सल्टेन्सी (पिइसी) को आयोजनामा सोमबारदेखि बास्केटबल म्याडनेस प्लस टु गल्र्स बास्केटबल प्रतियोगिता हुने भएको छ।
प्रतियोगितामा सात टिमको सहभागिता रहने प्रतियोगिता संयोजक नृपेश श्रेष्ठले जानकारी दिए। ती टोलीलाई कुल दुई समूहमा विभाजन गरी लिगकम नकआउट आधारमा खेल खेलाइनेछ। समूहको शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। समूह ‘ए’ मा जेभियर इन्टरनेसनल कलेज, रातो बंगला स्कुल र ब्लु बर्ड कलेज तथा समूह ‘बी’ मा ल्यान्डमार्क एकेडेमी, कान्जिरोवा कलेज, गोल्डेनगेट इन्टरनेसनल कलेज र ट्रिटन कलेज रहेका छन्।
विजेताले २० हजार र उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। खेलहरू ललितपुरको सानागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा खेलाइनेछ। फाइनल भदौ २२ गते हुनेछ।