काठमाडौँ : सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले पार्टीलाई बलियो बनाइ एक्लै निर्वाचन जित्न सक्ने अवस्थामा पुर्याउने निर्णय गरेको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीलाई बलियो बनाउने निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा प्रकाश शरण महतले बैठकमा उपसभापति र महामन्त्री द्वयले राखेका, नीतिगत, साङ्गठनिक र समसामयिक प्रस्तावउपर छलफल भएको बताए ।
उनले महामन्त्री गगनकुमार थापाले निर्वाचनअघि गठबन्धन गर्न नहुने प्रस्तावमाथि छलफल भई सोही दिशामा अघि बढ्ने निर्णय भएको बताए । उनले कांग्रेसको संगठनलाई चुस्त, दुरुस्त रुपमा गाउँ गाउँमा पुर्याउने , संगठनको अभियानलाई अगाडि बढाउने सम्बन्धमा निर्णय भएको बताए ।
सक्रिय सदस्यता नवीकरण गर्ने, नयाँ सदस्यता दिने बारेमा पनि निर्णय भएको छ । त्यस्तै चुनावअघिको गठबन्धनबारे पार्टीलाई केन्द्रबिन्दुमा राखेर पार्टीलाई बलियो बनाउने, एकीकृत गर्ने निर्णय भएको बताए । उनले महाअधिवेशनका सन्दर्भमा पार्टीको विधानले व्यवस्था गरेअनुसार अधिवेशन समयमा नै सम्पन्न गर्ने निर्णय भएको बताए ।
महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक प्रस्तावमा उल्लेखित एग्जिट पोलिसीको सम्बन्धमा छलफल गर्दा निर्णय गर्न केन्द्रीय समितिले आवश्यक नठानेको र संविधानसँग पनि जोडिने भएकाले संविधान संशोधनका क्रममा छलफल अघि बढाउने निर्णय भएको बताए। प्रवक्ता डा प्रकाश शरण महत बैठकमा समसामयिक, राजनीतिक, आर्थिक अवस्था, जनताका आवश्यकता लगायतका बारेमा पनि छलफल र निर्णय भएको बताए ।