काठमाडौं : रुसी सेनामा भर्ती भएका थप ४ जना नेपालीको मृत्यु भएको छ । पछिल्लोपटक (१४ भदौसम्म) चार नेपालीको मृत्यु भएसँगै रुसी सेनामा भर्ती भएर युक्रेनसँगको युद्धमा मर्ने नेपालीको संख्या ४० पुगेको छ ।
पछिल्लो पटक मृत्यु हुने चार नेपालीमा विक्रम चौधरी, डोमबहादुर आले, विमल लिम्बु र सुवास थापा रहेका छन् । हालसम्म १७४ जना रुसबाट घर फर्किएको तथ्यांक छ । असार १० सम्म मृत्यु हुनेको संख्या ३४ रहेकोमा त्यसपछि थप दुई जना संजोग आचार्य र नवीन शाहीको मृत्यु भएको थियो । त्यसपछि थप चार जनाको मृत्यु भएको हो । परराष्ट्र मन्त्रालयले पछिल्लो पटक मृत्यु हुनेको ठेगाना पत्ता लगाउने प्रयास गरिरहेको छ । ‘उनीहरुको घर कहाँ हो भन्ने बारेमा भने अझै पत्ता लागिसकेको छैन ।
व्यक्तिमात्र पत्ता लागेको छ । उनीहरुको घर पत्ता लगाउन सकिएको छैन,’ परराष्ट्र स्रोतले भन्यो, ‘हामी सम्बन्धित निकायहरुसँग सोधपुछ गरेर काम गरिरहेका छौं ।’ सन् २०२२ फेब्रुअरी २४ का दिन रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको युद्धमा रुसले गैरकानुनी रूपमा नेपालीलाई सम्झौता गर्दै भर्ती गरिरहेको छ । रुसी सेनामा भर्ती भई अहिले ७ नेपाली युक्रेनी सेनाको कब्जामा छन् । यसरी कब्जामा परेका नेपालीमा काभ्रेका सिद्धार्थ ढकाल, मोरङका विकास राई, रोल्पाका प्रतीक पुन, बर्दियाका विवेक खत्री, चितवनका सुजन सुवेदी, मकवानपुरका ईश्वर लामिछाने र मदन दाहाल (जिल्ला खुलेको छैन) छन् ।
उनीहरूलाई नेपाल सरकारले रुसी सरकारसँग सहकार्य गरेर छुटाउने प्रयास गरे पनि हालसम्म उक्त पहल सफल हुन सकेको छैन ।










