
काठमाडौं : काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको मोटरसाइकल भीमफेदी गाउँपालिका–६ जुरीखेतको एघार घुम्तीबाट भीरमा खसेर दुर्घटना भएको छ।
कुलेखानी–भीमफेदी–काठमाडौं सडकखण्डमा पर्ने उक्त स्थानबाट मोटरसाइकल सहित भीरमा खस्दा मोटरसाइकलमा सवार दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। आज अपराह्न ४ः३० बजेतिरको समयमा काठमाडौंबाट हेटौंडा तर्फ आउँदै गरेको प्रदेश २–०३–०११ प ३४७४ नम्बरको पल्सर मोटरसाइकल आफैं अनियन्त्रित भई सडकबाट करिब ५ सय मिटर तल खसी दुर्घटना भएको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।
डीएसपी भण्डारीका अनुसार मोटरसाइकल चालक पर्साको वीरगञ्ज महानगरपालिका–१५ लक्षुमन्वा बस्ने वर्ष ४० को वृत नारायण यादव गम्भीर घाइते भएका छन्। सोही मोटरसाइकलको पछाडी बसेका बारा जिल्लाको फेटा गाउँपालिका–७ बस्ने ३६ वर्षका रमेश पाण्डे मध्यम घाइते भएका छन्। दुवैजनालाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको डीएसपी भण्डारीले जानकारी दिए।
मोटरसाइकल भने पूर्ण रुपमा क्षति भएको र घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।