
काठमाडौं : क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ संस्था इक्रा नेपालबाट भदौ ७ गते क्रेडिट रेटिङ गराई आईसीआरए डबल बी(इक्राएनपी–आईआर) बीबी रेटिङ पाएको छ ।
इक्रा नेपालका अनुसार यस्तो रेटिङ पाउने कम्पनीको वित्तीय दायित्य समयमा नै पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको मानिन्छ ।साथै,कम्पनीले आरवीवी मर्चेण्ट बैंकिङ र आरवीवी म्युचुअल फण्ड १ सँग गत भदौ १७ गते सम्झौता गरी सर्वसाधारणमा जारी गरिने आईपीओका लागि शेयर प्रत्याभुतीकर्ताको रुपमा नियुक्त समेत गरिसकेको छ ।
स्थापनाको छोटो अवधिमा नै लघु बीमाको ठूलो हिस्सा ओगटी नाफा कमाउन सफल भए पनि रेटिङलाई प्रारम्भिक वर्षहरुमा हुने सञ्चालन, व्यवस्थापन तथा जोखिमांकन खर्चले असर पार्ने हुँदा कम्पनीले यस्तो रेटिङ पाएको हो । निकट भविष्यमा हुने कारोबारको विविधिकरण सहितको व्यापार विस्तार, गुणस्तरिय लगानी तथा नियन्त्रित दाबी भुक्तानी प्रक्रियाले रेटिङलाई सकारात्मक प्रभाव पार्ने कम्पनीले बताएको छ ।
कम्पनीले जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २२ लाख ५० हजार कित्ता आईपीओ प्रतिशेयर १०० रुपैयाँ अंकितमूल्यमा निष्कासन गर्ने तयारी गरेको छ । न्यून आय भएका मध्यमवर्ग एवं पिछडिएका क्षेत्रका वासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई लघु जीवनबीमा सेवा पु¥याउने लक्ष्यका साथ कम्पनीले लघुबीमा कारोबार सञ्चालन गर्दै आइरहेको छ ।
कम्पनीले हाल २३ वटा शाखा तथा उपशाखा कार्यालय मार्फत सेवा प्रदान गरिरहेको छ ।