अबका चुनाव एक्लै लड्छौँ, कांग्रेसलाई समयमै सत्ता दिन्छौँ : ओली

२०८१ भाद्र १८, मंगलवार

काठमाडौँ : प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब हुने कुनैपनि निर्वाचनमा कुनै दलसँग पनि गठबन्धन नगरी एक्लै लड्नेगरी अघि बढ्न निर्देशन दिएका छन्।

मंगलबार दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्ने क्रममा उनले आगामी मंसिरमा हुने उपनिर्वाचन र ८४ मा हुने निर्वाचन दुवैमा एक्लै लड्नेगरी तयारी थाल्न अध्यक्ष ओलीले निर्देशन दिए।

‘अब हुने चुनावमा गठबन्धन हुँदैन, एक्लाएक्लै चुनाव लड्ने हो। हामी त्यसको तयारीमा बस्नुपर्छ,’ बैठकमा प्रधानमन्त्री ओलीले राखेको भनाइ उद्धृत गर्दै एक पोलिटब्यूरो सदस्यले भने, ‘मंसिरको उपचुनाव र ८४ को चुनावमा एक्लाएक्लै लड्छौँ। निर्वाचन पछि भने एलायन्स हुन पनि सक्छ। परिस्थिति हेरेर।’

साथै, उनले नेपाली कांग्रेससँग भएको सहमति अनुसार निर्धारित समयमा नै कांग्रेसलाई सत्ता हस्तान्तरण हुने पनि जानकारी पार्टी नेताहरूलाई गराएका छन्। ‘हामीले निर्धारित समयमा काम गरेर कांग्रेसलाई हस्तान्तरण गर्छौँ। कांग्रेसको नेतृत्वमा चुनाव हुन्छ,’ ओलीले भनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार