काठमाडौँ : दशैंतिहार अगाडि नै भारतबाट १९ हजार मेट्रिक टन चिनी आइपुग्ने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार आगामी सातासम्ममा नेपाली बजारमा सो परिमाणकमो चिनी आइपुग्ने छ ।
विभागले भारतबाट चिनी खरिद गर्नका लागि छनोट गरेका सात वटा निजी व्यापारिक कम्पनीले सो परिमाणको चिनी ल्याउने छन् । चिनी खरिदका लागि छनोट भएका कम्पनीले भारतमा चिनी खरिद गरिसकेका छन् । आउँदो साता भारतबाट खरिद गरेको १९ हजार मेट्रिक टन मिनी बजारमा आइपुग्ने विभागले जनाएको हो । विभागका अनुसार चिनी बजारमा आएपछि प्रतिकिलोग्राम १०७ रुपैयाँ ५० पैसामा बिक्री गरिने छ ।
यसअघि विभागले चिनी खरिदका लागि आवेदन दिएका ७३ वटा व्यापारिक फर्ममध्ये सात वटा छनोट गरेर चिनी खरिदका लागि पत्राचार गर्दै एक सातामै प्रक्रिया शुरु गर्ने निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार छनोट भएका निजी व्यापारी कम्पनीले चिनी खरिद प्रक्रिया पूरा गरेर अर्को साता नेपाली बजारमा ल्याउन लागेका हुन् ।