काठमाडौँ : विकसित देशमा कहिलेकाहीं मात्र देखिने स्क्रब टाइफसबाट नेपालमा भने बर्सेनि हजारौं संक्रमित हुने गरेका छन्। नेपालमा गत पुस मध्यदेखि अहिलेसम्म मात्र तीन हजार पाँच सय ३६ जनामा स्क्रब टाइफस संक्रमण भइसकेको स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक छ।
गत वर्ष यो पाँच हजार तीन सय सातजनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको थियो। संक्रमितमध्ये ढिला अस्पतालमा पुगेका र दीर्घरोगीलाई भर्ना गरी उपचार गर्नुपरेको काठमाडौं उपत्यकाका अस्पतालहरूले जनाएका छन्। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अहिले स्क्रब टाइफसका तीनजना बिरामी भर्ना छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अस्पतालमा गत साता १० जना भर्ना भएका थिए। अहिले भने दुई बिरामी आकस्मिक कक्षमा छन्।
उपत्यकाका अस्पतालमा उपचारका लागि आउने संक्रमितमध्ये धेरैजसो धादिङ, नुवाकोट, काभे्र, गोरखालगायत जिल्लाका छन्। इपिडिमियोलोजी महाशाखाका अनुसार यीबाहेक देशका विभिन्न जिल्लामा स्क्रब टाइफस संक्रमण देखिएको छ। चिकित्सकका अनुसार स्क्रब टाइफसका बिरामी नेपालमा सन् २०१५ देखि नियमित देखिएका छन्। त्यसअघि यसको परीक्षण नभएकाले पहिचान हुन नसकेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको अनुसन्धान शाखाका संयोजक डा. शेरबहादुर पुन बताउँछन्।
पुनका अनुसार सन् २००४ मा धरानमा धेरै बालबालिकाको स्क्रब टाइफसकै कारण मृत्यु भएको एक अध्ययनले देखाएको थियो। नेपालमा हरेक वर्ष स्क्रब टाइफसको कारणले मृत्यु हुनेको संख्या बढेको देखिन्छ। तर इपिडिमियोलोजी महाशाखाले मृतकमा डेंगी र स्क्रब टाइफस र अन्य दीर्घरोगसमेत देखिएकाले यसकै कारण मृत्यु भएको यकिन गर्न सकेको छैन। महाशाखाको कीटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहाल भन्छन्, ‘हामीलाई अस्पतालबाट स्क्रब टाइफसकै कारण मात्र मृत्यु भएको भनेर रिपोर्ट आउँदैन, स्क्रब टाइफस संक्रमितलाई डेंगी पनि भएको हुन्छ, अरू रोग पनि हुन्छ, यस्तो बेलामा स्क्रब टाइफसले नै मृत्यु भयो भन्न सक्दैनौं’, उनले भने। चिकित्सकका अनुसार विकसित देशमा मुसामा हुने माइटस नामक परजीवीले मानिसलाई टोके स्क्रब टाइफस संक्रमण हुन्छ।
झाडीमा मुसा हुने र यस्ता ठाउँमा बसेमा माइटस शरीरमा प्रवेश गर्छ। माइटसले टोकेको एक सातादेखि २० दिनभित्र संक्रमणको लक्षण देखिन सुरु हुन्छ। संक्रमितमा कडा ज्वरो आउने, ग्रन्थी सुन्निने, जटिलता बढ्दै गए निमोनियाको समस्या देखिन सक्छ । समयमै उपचार नगराएमा बिरामीको मृत्युसमेत हुन सक्छ। नेपालमा धेरैजसो गाउँघरका मानिसमा यसको संक्रमण भएको पाइएको डा. पुन बताउँछन्। सहरको तुलनमा गाउँघरमै यसको संक्रमण देखिएको कीटजन्य शाखा प्रमुख दाहाल बताउँछन्।









