काठमाडौँ : कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सरकारले राम्रो कानून बनोस् भन्ने कुरामा यथेष्ट ध्यान दिएको बताएका छन्। बुधबार संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्।
मन्त्री चौरसियाले सो विधेयकले पनि कानून निर्माणका लागि संसद्लाई अझ बढी अधिकार दिने व्यवस्था राखेको उल्लेख गरे। पार्लियामेण्टलाई पनि अझ सशक्त ढंगले कानून बनाउन अधिकार दिने व्यवस्था सो विधेयकले गरेकाले कानून निर्माणको प्रक्रिया अझ बढी प्रभावकारी हुने उनको विश्वास थियो।
मन्त्री चौरसियाले कानून निर्माणको कामलाई अझ पारदर्शी, व्यवस्थित र गुणस्तरीय बनाउने कुरामा सरकारले अन्तर्राष्ट्रिय प्रचलनलाई ध्यान दिएर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे। उनले कानून निर्माणको प्रक्रियालाई व्यवहारिक रुपमा नै अझ बलियो बनाउनका लागि विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सरकारले संसद्मा ल्याएको दाबी समेत गरे। मन्त्री चौरसियाले सरोकारवालाहरुको सुझावलाई कानून निर्माण प्रक्रियामा सरकारले विशेष ध्यान दिने पनि जिकिर गरे।











