गणतन्त्रको रक्षाका लागि कांग्रेस-एमालेबीच कुनै मतभेद छैन: सभापति देउवा

२०८१ भाद्र १९, बुधबार

काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बहुदलीय प्रजातान्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा कांग्रेस र एमालेबीच मतभेद नरहेको बताएका छन्। बुधबार काठमाडौंमा नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। प्रजातन्त्र र गणतन्त्रको रक्षाका लागि कांग्रेस र एमालेबीच कुनै मतभेद नरहेकाले पूरा समर्थन रहने उनकाे भनाइ थियो।

“अहिलेको बेला चुनौतीपूर्ण ढंगको अवस्था पनि छ। कहाँ चुनौती छ, सबैले बुझ्नुभएको छ। प्रजातान्त्रिक प्रणालीलाई हामीले जोगाउनु छ। त्यसमा हामी सबै लाग्नु छ। यसका सम्बन्धमा आफ्ना आफ्ना मतभेद होलान्। एमालेसँग कांग्रेस र कांग्रेससँग एमाले पार्टीको होलान्। तर एउटा कुरामा, यो बहुदलीय प्रजातान्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा हामी दुई पार्टीका बीचमा कुनै मतभेद छैन।” उनले भने।

सभापति देउवाले देशको अवस्था चुनौतीपूर्ण रहेको भन्दै कर्मचारीहरुमा अझ यसको प्रभाव पर्ने उल्लेख गरे। सोही कारण चुनौतीलाई बुझेर काम गर्न आवश्यक रहेकोमा उनले जोड दिए। एमाले र कांग्रेस मुख्य प्रतिस्पर्धी राजनीतिक दल भएको उल्लेख गर्दै कतिपय ठाउँमा समस्या भएपनि समस्याको समाधान गर्नु नै आफूहरुको कर्तव्य भएको उनले सुनाए। उनले यसबारेमा कुनै चिन्ता नलिइकन सरकारले गरेका निर्णयहरुको कार्यान्वयन गर्न कर्मचारीहरुलाई निर्देशन दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार