काठमाडौँ : नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेरअघि बैठक सुरु भएको हो। बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन। यद्यपि, आइतबारको बैठकमा समसामयिक विषयमा छलफल हुने प्रचार तथा प्रसार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
‘समसामयिक राजनीतिको पछिल्लो घटनाक्रमको बारेमा आज छलफल हुन्छ,’ गौतमले भने। पूर्वगृहमन्त्री समेत रहेका रवि लामिछानेको पक्राउबारे पनि बैठकमा छलफल हुनसक्ने बताइएको छ। रविलाई शुक्रबार काठमाडौँबाट पक्राउ गरेर कास्की लगिएको छ।
कास्की जिल्ला अदालतले ६ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन आइतबार अनुमति पनि दिएको छ। यसअघि गत असोज २४ गते पार्टी कार्यालय च्यासलमै सचिवालय बैठक बसेको थियो। सो बैठकले पार्टीको नयाँ केन्द्रीय कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको थियो।
लगत्तै, व्यवसायी मीनबहादुर गुरुङले दान दिएको जग्गामा भोलिपल्टै एमालेले पार्टी कार्यालयको शिलान्यास गरेको थियो। त्यसयता, एमालेको उक्त कदमको चर्को आलोचना हुँदै आएको छ।