वीरगञ्ज : बारास्थित गढीमाई मन्दिरमा लाग्ने पञ्चवर्षीय मेलाको तयारी तिब्र रुपमा भइरहेको छ ।
हरेक पाँच वर्षमा यो मन्दिरमा भव्य मेला लाग्ने गरेको छ । मंसिर १ गतेदेखि नै मेला लाग्ने भएको हुँदा भक्तजन तथा दर्शनार्थीको सहजताका लागि मेला समितिले आवश्यक तयारी गरिरहेको बताइएको छ । गढीमाई मेलामा आन्तरिक दर्शनार्थीका साथै भारतबाट समेत ठुलो संख्यामा दर्शनार्थी आउने गरेका छन् ।
पञ्चवर्षीय मेला एक महिनासम्म लाग्ने गर्दछ । मेलाका अवसरमा विशेषगरी यहाँ विभिन्न पशुको बलि दिइन्छ । जानकारका अनुसार गढीमाई मन्दिरमा भाकल गरिन्छ । मनोकामना पूरा भएपछि यहाँ बलि दिने परम्परा छ । मेला आयोजक समितिका अनुसार यो वर्ष एक महिनाको अवधिमा करिब तीन करोडको हाराहारीमा दर्शनार्थी आउने आकलन छ ।
जसका लागि मेला समितिले यो वर्ष एक हजार बिघामा मेला लगाउने तयारी गरेको छ । सो क्षेत्रफलमा विभिन्न स्टलदेखि लिएर मनोरञ्जनका साधन, पार्किङ, सातै प्रदेशका कृषिजन्य वस्तु राख्ने तयारी गरिएको छ ।